७ भदौ, बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार बेलायतका नयाँ प्रधानमन्त्री केइर स्टार्मरसँगको पहिलो कुराकानीमा बेलायतसँग ‘साझा जित’ हासिल गर्ने आशा व्यक्त गरेको सरकारी टेलिभिजन सिसिटिभीले बताएको छ ।
बेलायतको आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ सम्म चीन बेलायतको पाँचौँ सबैभन्दा ठूलो व्यापारिक साझेदार थियो तर पूर्वबेलायती उपनिवेश हङकङकमाथि बेइजिङको कडा नियन्त्रणलाई लिएर दुवै मुलुकबीच विवाद भएपछि हालैका वर्षहरूमा कूटनीतिक सम्बन्ध चिसिएको छ ।
सिसिटिभीका अनुसार शुक्रबार दिउँसो दुवै नेताबीच फोनमा भएको कुराकानीमा सीले गत महिना प्रधानमन्त्रीको भूमिका ग्रहण गरेकामा स्टार्मरलाई बधाई दिए ।
सीलाई उद्धृत गर्दै भनिएको छ, “बेलायत पक्षसँग चीन आपसी सम्मानको आधारमा समान वार्ता गर्न इच्छुक छ र वित्त, हरित अर्थतन्त्र, कृत्रिम बौद्धिकता आदिका क्षेत्रमा सहयोग विस्तार गर्नेछ ।”
राष्ट्रपति सीले ‘चीन–बेलायत सम्बन्धहरूको आधारभूत स्वरलाई पारस्परिक लाभ र साझा जित बनाउनु’ आफ्नो लक्ष्य रहेको बताएको सिसिटिभीले उल्लेख गरेको छ ।
चिनियाँ प्रधानमन्त्री लि छ्याङ जुलाई ७ मा दुई दिनअघि स्टार्मर प्रधानमन्त्री बनेकामा सार्वजनिक रूपमा बधाई दिने मुलुकको पहिलो वरिष्ठ नेता थिए ।





