७ भदौ, काठमाडौँ । अधिकारकर्मीहरुले पुरुषको सकारात्मक सहकार्यबाटै लैङ्गिक समानता कायम गर्न सकिनेमा जोड दिएका छन्।
आज यहाँस्थित अष्ट्रेलियन दूतावासमा अस्ट्रेलिया अवाडसर आयोजना गरेको ‘लैङ्गिक समानताका लागि पुरुषको सहयोगः अनुभव र अन्तरदृष्टि’ विषयक अन्तरक्रियामा उनीहरुले पुरुषको सकारात्मक भूमिकाले समानता कायम गर्न सकिने धारणा व्यक्त गरे ।
दुतावासका विकास प्रमुख कविता कस्यनाथनले लैङ्गिक समानताका लागि पुरुष सहकार्य र सहभागिता अपरिहार्य रहेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखिएको लैङ्गिक समानताको अवस्था चर्चा गर्दै समाजमा भएका असमानता हटाउन पुरुषको साथ र सहकार्य जरुरी रहेको उल्लेख गरे । “अधिकांश महिला सफल हुनुमा पुरुषको साथ देखिन्छ”, उनले थपे, “चाहे त्यो घर होस् या राजनीतिक तहमा होस् पुरुषको साथ जरुरी छ ।”
वन तथा वातावरण मन्त्रालयका सहसचिव डा सिन्धुप्रसाद ढुङ्गानाले महिलामाथि विभेद छ भन्ने यथार्थ स्वीकार गरेर मात्रै समाधान खोज्न सम्भव हुने धारणा राखे । महिलाका समस्या गम्भीर भई सुनेर र मनन गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको रहेको उनको भनाइ थियो ।
जलवायु विशेषज्ञ विद्यादेवी गुरुङले लैङ्गिक समानताबारे नकारात्मक धारणालाई चिर्दै समाज रुपान्तरणमा सबै सरोकारवाला पक्षको दायित्व हुने धारणा राखे । गेट कलेजका प्रमुख खेम लकाइले समानतासम्बन्धी चेतनाको विकास गर्न सके विस्तारै नतिजा देखिने बताए ।
महिला अधिकारकर्मी निर्मला महर्जनले समाजमा असमानता हटाउन प्रत्येक व्यक्तिले आत्मसाथ गर्दै आफूबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने विचार राखे ।





