८ भदौ, काठमाडौँ । नेपाल जाइका अलमनाई एशोसिएशन जानले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका नेपालका नयाँ प्रमुख प्रतिनिधिलाई स्वागत र निवर्तमान प्रमुख प्रतिनिधिलाई बिदाइ गरेको छ ।
‘जान’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा अध्यक्ष डा रामचन्द्र भुसालले जाइका नेपालका नयाँ प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीलाई स्वागत र निवर्तमान प्रमुख प्रतिनिधि अकिमित्सु ओकुबोलाई बिदाइ गरे । सो अवसरमा नेपालका लागि जापानका राजदूत युताका किकुताले नेपालको विकासमा जापानको सदैव सहयोग रहँदै आएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्धलाई प्रगाढ तुल्याउन ‘जान’को भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकीले नेपाल र जापानबीचको सम्बन्ध मजबुद बनाउन ‘जान’ले सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
‘जान’का अध्यक्ष डा भुसालले दुई देशबीचको सम्बन्धलाई सुदृढ तथा सांस्कृतिक आदानप्रदानमा संस्थाले लामो समयदेखि काम गर्दै आइरहेको स्पष्ट पारे । उनले नेपालको विकास प्रयासमा जाइका नेपालका निर्वतमान प्रमुख प्रतिनिधि ओकुबोले अतुलनीय योगदान गरेको उल्लेख गरे ।
जापान नेपालको विश्वासिलो विकास साझेदारका रुपमा रहेको चर्चा गर्दै अध्यक्ष भुसालले जाइका नेपालका प्रमुख प्रतिनिधि मात्सुजाकीको कार्यकालमा नेपाल–जापान मैत्री सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे । जाइका नेपालका नयाँ प्रमुख प्रतिनिधिधि मात्सुजाकीले विकास नीतिका क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन् । उनीसँग जापान सरकारका प्रतिनिधिका रुपमा फिलिपिन्स, अफ्रिकालगायत मुलुक तथा जापानका विभिन्न मन्त्रालयमा लामो समय काम गरेको अनुभव छ । कार्यक्रममा नेपाल सरकारका सचिव गोकर्णमणि दुवाडी, जाइका नेपालका वरिष्ठ प्रतिनिधि, नेपाल सरकारका उच्च अधिकृतलगायतको सहभागिता थियो ।





