८ भदौ, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले विद्यामान समस्या समाधान गर्ने क्रममा प्रतिफल देखिने गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागले राष्ट्रिय खानेपानी सरसफाइ तालिम केन्द्र नगरकोटमा आयोजना गरेको चालु आर्थिक वर्षको आयोजना कार्यान्वयनसम्बन्धी दुईदिने ‘खरिद क्लिनिक कार्यशाला गोष्ठी’ मा मन्त्री यादवले हरेक निकायले आफ्नो जिम्मेवारी नागरिकप्रति इमान्दार भएर निर्वाह गर्नुपर्ने बताए । यसरी काम गर्दा प्रतिफल देखिनुपर्ने उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री यादवले केपी शर्मा ओलीले नेतृत्वको वर्तमान सरकार विद्यमान समस्या समाधान गर्ने लक्ष्यसाथ आगडि बढिरहेको भन्दै सबै सरकोर भएका निकायले पनि नागरिकमैत्री सेवा प्रवाह मुख्य लक्ष्य बनाउनुपर्ने बताए । उनले भने, “यो सरकार समास्या समाधान गर्न बनेको हो । सबैले आफूले कार्यसम्पदान गर्दा प्रतिफल देखिने गरी गर्नु आवश्यक छ ।”
मन्त्री यादवले विभागले आयोजना गरेको उक्त गोष्ठीबाट काम गर्ने सिलसिलामा थप ऊर्जा प्राप्त भएको भन्दै यहाँबाट सिकेका उपलब्धि कार्यसम्पादनमा देखिने बताए । उनले भने, “विभागले आयोजना गरेको गोष्ठीमा विभिन्न विषयमा प्रशिक्षण, अनुभव आदानप्रदान भएको छ, यसले तपाईँहरूको काम गर्ने शैली तथा क्षेत्रमा थप ऊर्जा थपिएको मैले विश्वास लिएको छु ।”
मन्त्री यादवले विगतमा खुला दिसामुक्त क्षेत्रको घोषणा गरिएको भए पनि अझै सतप्रतिशत नपुगेकाले हामीले प्रतिफल देखिनेगरी काम गर्न जरुरी रहेको धारणा राखे । नागरिक तथा विकासका काममा कुनै पनि ढिलासुस्ती नगर्न आग्रह गर्दै उनले जनगुनासो समाधानतर्फ सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
कार्यक्रममा देशभरका २० वटा अस्थायी खानेपानी तथा सरसफाइ आयोजना कार्यालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी सङ्गठनलाई स्थायित्व दिन र लामो समयदेखि प्रक्रियामा रहेका कार्यलाई सम्पन्न गरिदिन माग गर्दै कर्मचारीद्वारा मन्त्री यादवलाई ज्ञापनपत्र पेस गरिएको थियो ।
ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले उक्त विषय सबैको समस्या भएको उल्लेख गर्दै खानेपानी मन्त्रालयलेसमस्या समाधान गर्न योजना बनाएर कार्यान्वयन गर्ने बताए। उनले भने, “यो सबैको साझा समस्या हो, यस विषयमा गम्भीर छु । अर्थ मन्त्रालयको लिखित प्रतिबद्धता आवश्यक पर्छ । स्रोतको सहमति बिना विगतमा गरिएका काम, मन्त्रालयमा कर्मचारी, विज्ञसहित छलफल गरी यस विषयमा मन्त्रालयले धाराण र योजना तयार पारी स्रोतको सहमतिमा निर्माण गर्नेछौँ ।
मन्त्री यादवले कात्तिक मसान्तपश्चात् कार्यक्रम संशोधन भई रकमान्तरको प्रक्रिया सुरु हुने भएकाले यहाँहरूका जायज माग तथा वास्तविक आवश्यकता पूरा गर्न मन्त्रालयको बजेट र जनशक्ति थप हुने विश्वास दिलाए । उनले सरोकार भएका निकायलाई अधुरा आयोजना पूरा गर्न निर्देशन दिए ।
मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले स्रोत सहमति, अस्थायी, बेरुजु संपरीक्षण, प्रक्रिया पालना, सार्वजनिक शौचालय, तराई क्षेत्रमा बसोबास गर्ने चमार÷मुसहर बस्तीमा खानेपानीलगायत थुप्रै समस्या रहेकाले ती समस्यालाई क्रमिक रूपमा सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख एवं महानिर्देशक रामकुमार श्रेष्ठले आर्थिक वर्षको सुरुमा आयोजना गरिएको दुईदिने यस कार्यशाला गोष्ठीबाट समस्यासहित समाधानका उपाय आउनुका साथै विज्ञको प्रस्तुतीकरणले थप मार्गप्रशस्त गरेको बताए ।
उनले भने, “मन्त्रीज्यू तथा सचिवज्यूको मार्गनिर्देशनले हामीमा थप ऊर्जा र उत्प्रेरणा थपिएको छ । पहिचान भएका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपाय पहिचान भएका छन् । सरकार गठन भएको एक सय दिनका लक्ष्य निर्धारण भएका छन्, कामको नतिजा अवश्य दिनेछौँ ।”
गोष्ठीमा सङ्घीय खानेपानी मन्त्रालय मातहतका देशभरिका कार्यालयका प्रमुखको सहभागिता थियो ।





