१० भदौ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेका अनेकौँ सांस्कृतिक तथा मौलिक परम्पराहरूको जगेर्ना गर्दै तिनीहरूको विश्वव्यापीकरण गर्नुपर्ने बताएका छन्।
गौरापर्वको अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा उपलब्ध प्राकृतिक र सांस्कृतिक विविधता जगेर्ना गर्न सबैले जिम्मेवारीबोध गर्नुपर्ने बताए ।
“हामीसँग अनेकौँ साँस्कृतिक विविधता र मौलिक संस्कृति छन् । त्यसलाई बिर्सिने होईन, विश्वव्यापी बनाउने हो”, उनले भने । प्रधानमन्त्री ओलीले सुदूरपश्चिम क्षेत्र नेपालको सभ्यताको उद्गमस्थल रहेकोसमेत उल्लेख गर्दै त्यहाँको संस्कार शैली र परम्परालाई संरक्षण र सम्वर्द्धन गर्न सक्नुपर्ने बताए ।
सोही अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व सुदूरपश्चिम र कर्णालीको मौलिक चाँड रहेको बताउँदै यसले एकता र भातृत्वको सन्देश दिएको बताए ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौरापर्वले आत्मअनुशासन, मर्यादा, सद्भाव र आत्मियताको सन्देश बोकेको बताउँदै सबैले त्यसलाई व्यवहारमा पनि त्यो देखाउन सक्नुपर्ने बताए ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सुदूरपश्चिम क्षेत्रमा निकै सम्मान र आत्मियताका साथ गौरापर्व मनाउने गरेको उल्लेख गर्दै राष्ट्रिय एकता र सद्भावका लागि यो पर्वले भूमिका खेल्ने बताए ।
मुलुकका हरेक चाडवाड र पर्वहरूले राष्ट्रियता एकतालाई अझ मजबुद बनाउने उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री डा भीमबहादुर रावलले गौरापर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूको सुख, शान्ति, समृद्धिको कामना गरे ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म सुदूरपश्चिम क्षेत्रमा विशेष रुपमा मनाइने यस पर्वमा भगवान् शिव र पार्वतीको पूजा अर्चना गरी व्रत बस्ने गरिन्छ । राजधानीमा बसोबास गर्दै आएका सुदूरपश्चिमवासीले आज टुँडिखेलमा गौरापर्व मनाएका छन् । सो अवसरमा टुँडिखेलमा सुदूरपश्चिम र कर्णाली क्षेत्रका मौलिक नाँचगान गरी पर्व मनाइएको हो । डेउडा खेलेर, फाग तथा धमारी गाएर गौरा मनाइएको हो ।





