अन्तर्राष्ट्रिय

जेलमा रहेका सुधारवादी इरानी नेताविरूद्ध नयाँ अभियोग

१७ भदौ, तेहरान । जेलमा रहेका इरानी अधिकारकर्मी तथा पूर्वमन्त्री मुस्तफा ताजजादेहलाई राज्यविरुद्ध ‘प्रचारबाजी’ गरेको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् ।

इरानको सुधारवादी खेमाका प्रमुख व्यक्ति ताजजादेह तेहरानको इभिन जेलमा जुलाई २०२२ देखि जरहेका छन् ।

सन् १९९७ देखि २००५ सम्म पश्चिमा मुलुकसँगको सम्बन्ध सुधारमा जिम्मेवारी पाएका सुधारवादी नेता खतामीको नेतृत्वमा उपगृहमन्त्रीको रूपमा काम गरेका थिए ।

उनलाई सन् २०२२ को अक्टोबरमा ’राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ अभियोगमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो ।

सुधारवादी दैनिक हम्मिहानले सोमबार ताजजादेहमाथि ‘राज्यको सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ र ‘इस्लामिक गणतन्त्रविरुद्ध दुष्प्रचार गरेको’ नयाँ आरोप लगाइएकोे छ ।

सन् २००९ मा कट्टरपन्थी राष्ट्रपति महमुद अहमदीनेजादको पुनः निर्वाचनपछि अन्य सुधारवादी नेताहरूसँगै पक्राउ परेका उनले सात वर्ष जेलमा बिताइसकेका थिए ।

आफ्ना नातेदारले सञ्चालन गरेका सामाजिक सञ्जाल च्यानलमार्फत राष्ट्रिय राजनीतिका विषयमा मुखर टिप्पणी गर्ने ताजजादेहले एक पत्रमा नयाँ मुद्दामा आफू अदालतमा उपस्थित नहुने बताएका छन्।

हम्मिहानका अनुसार यदि ताजजादेह दोषी ठहरिएमा उनलाई थप छ वर्षको जेल सजाय हुन सक्छ ।

हालैका वर्षहरूमा, उनले इरानी राजनीतिक प्रणालीमा लोकतान्त्रीकरणका लागि ‘संरचनात्मक परिवर्तनहरू’ लागू गर्न अधिकारीहरूलाई आह्वान गरेका थिए।