२३ भदौ, काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले शनिबार जनाएको छ ।
गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहेका थिए भने उनलाई सुनुवाईका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उनलाईअदालतसामु उपस्थित भएका थिएन ।
भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गरेका थिए ।
स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले उरुटियाको आग्रहमा उनको सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गरेका छन् । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताएका छन्।
उरुटियाका वकिल जोस भिसेन्ते हारोले पनि उनले स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गरेका छन् ।
गत जुलाई २८ मा भएको निर्वाचनमा मडुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।
आयोगको घोषणा विपरीत उरुटियाले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए ।
संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मडुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन्।
चुनावपछि उरुटिया राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दावी गरेको र उहाँलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि भेनेजुएलाका अभियोजनकर्ताहरूले उरूटियाविरूद्ध पक्राउ पुर्जी जारी गरेका थिए।
भेनेजुएलाका विपक्षी नेताको बचाउ गर्ने वकिल जोएल गार्सियाले उरुटियालाई सरकारले आरोप लगाएका सबै आरोप लगाइएको खण्डमा ३० वर्षको जेल सजाय हुन सक्ने बताएका छन् ।
अधिकारीका अनुसार मडुरो ५२ प्रतिशत मतका साथ तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित भएका छन् ।
विपक्षीले आफ्नै मतदान रेकर्ड सार्वजनिक गरेको छ, जसमा गोन्जालेज उरुटियाले ६७ प्रतिशत मत प्राप्त गरेको उल्लेख छ ।
भेनेजुएलाको निर्वाचन प्राधिकरणले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको आरोप लगाउँदै निर्वाचन परिणामको पूर्ण विवरण दिन नसक्ने बताएको छ ।
पर्यवेक्षकहरूले भने त्यस्तो कुनै पनि ह्याकिङको कुनै प्रमाण नभएको बताएका छन्।
भेनेजुएलामा निर्वाचनपछि भएको हिंसामा २७ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । प्रशासनले करिब दुई हजार ४०० जनालाई पक्राउ गरेको जनाएको छ ।
चुनावअघि, उरुटिया कम चर्चामा रहेको सेवानिवृत्त कूटनीतिज्ञ छन् ।
मडुरोप्रति वफादार ठानिएका सरकारी संस्थाहरूले प्रमुख विपक्षी नेता माचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाएपछि उनले अन्तिम समयमा राष्ट्रपतिपदको उम्मेदवार बन्नुभएको थियो ।
भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मडुरोलाई विजयी घोषित गरिएको थियो ।
प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मडुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आएका छन् ।
खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पीडित उहाँको कार्यकालमा कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् ।





