११ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताएका छन्।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपालसँगको भेटघाटमा उनले स्वास्थ्य क्षेत्रको सुधारले मात्र मुलुकको सामाजिक सूचकमा पनि प्रगति हुने बताए ।
“स्वास्थ्य क्षेत्र कमजोर रह्यो भने सामाजिक सूचकका दृष्टिकोणले मुलुकलाई सुखी र समृद्धि भन्न सक्दैनौँ । यो क्षेत्रको विकास अपरिहार्य छ । त्यसले मात्र हामीले निर्धारण गरेका सङ्कल्पलाई पूरा गर्न सक्दछ”, उनले भने ।
चिकित्सा सेवालाई परिमाणका आधारमा विकास गर्न जरूरी रहेको रहेको उल्लेख गर्दै महासचिव पोखरेलले धेरै नेपाली उपचारका लागि बाहिर जाने स्थिति रहेका र उच्च, मध्यम र सीमा क्षेत्रका गरिबी जनता पनि उपचारका लागि भारत जाने गरेको भनाइ राखे।
उनले नेपालमा भएको उपचार सेवाको क्षमतालाई चिकित्सा क्षेत्रसँग जोड्न सक्यो भने बाहिरका मानिसलाई उपचारका लागि नेपाल भित्र्याउने आधार निर्माण हुने भन्दै त्यसका लागि चिकित्सा सेवाको सामाथ्र्य वृद्धि गर्नुपर्नेमा जोड दिए ।
मुलुकले उत्पादन गरेका जनशक्तिको झण्डै ८० प्रतिशत जनशक्ति बाहिर जाने गरेको तथ्याङ्क सार्वजनिक भएको भन्दै उनले भने, “स्वास्थ्य पूर्वाधार निर्माण गर्न नसक्नु र जनशक्तिका लागि पर्याप्त ठाउँ उपलब्ध गराउन नसक्नु रहेको छ ।”
महासचिव पोखरेलले पूर्वाधार तयार नभएकाले जनशक्तिलाई रोक्न नसकेको भन्दै तर भविष्यमा त्यो अवस्था अन्त्य गर्नुपर्ने भनाइ राखे । स्वास्थ्य क्षेत्रका विकास स्वास्थ्यकर्मीले गर्नुपर्नेमा भन्दै पार्टीले महासङ्घले बनाएका योजनालाई कार्यान्वयन गर्ने भनाइ राखे ।
महासङ्घका अध्यक्ष डा झलक शर्मा गौतमले पार्टीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए ।





