समाचार

पोखराको बेलुन विस्फोट घटना छानबिन गर्न समिति गठन, प्रतिवेदन पेस गर्न १५ दिनको समय  

४ फागुन, काठमाडौँ । हिजो पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा  बेलुन विस्फोट भई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन भएको हो। 

गृहमन्त्री रमेश लेखकले आज बिहान मन्त्रीस्तरको निर्णयबाट छानबिन समिति बनाउने निर्णय गरेका हुन्। समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।

समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत रहने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।

समितिले आइतबारदेखि नै काम थाल्ने छ । बेलुन विस्फोट घटनाको के कसरी भयो भन्नेबारे विस्तृत छानबिन र आगामी दिनमा यस प्रकारका कार्यक्रम गर्दा अवलम्बन गर्नुपर्ने सतर्कताका उपायसहितको प्रतिवेदन पेस गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।