१० फागुन, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिप्रति टिप्पणी गरेका छन्। माओवादी केन्द्रीय कार्यालयले आज शनिवार पेरिसडाँडामा आयोजना गरेको ‘स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण’ कार्यक्रमको उद्घाटन गर्दै दाहालले रछ्यानमा मिल्काइएका तत्त्वहरूले आफू अनुकूल व्याख्या गर्न थालेको भन्दै पूर्वराजा लक्षित अभिव्यक्ति दिएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरूले पनि आफू अनुकूल व्याख्या गर्न थालेको उल्लेख गर्दै अब यो देशको अग्रगामी विकल्प माओवादी मात्रै हो भन्ने तथ्य व्यवहारबाटै पुष्टि गर्ने बेला आएको बताए ।
‘सरकारको पर्फरमेन्स दिन–प्रतिदिन नराम्रो हुँदै गएको छ । जनतामा दिन–प्रतिदिन सरकारप्रति असन्तुष्टि र आक्रोश बढ्दै गएको छ,’ दाहालले भने, ‘सरकारप्रतिको यो आक्रोशलाई विभिन्न राजनीतिक प्रवृत्तिले आ–आफ्नो हिसाबले प्रयोग गर्ने कोसिस गरिरहेका छन् । अझ त्यसमा पनि इतिहासको रछ्यानमा मिल्काइएका तत्त्वहरू पनि फेरि एकचोटी पुनरागमन हुने हो कि भन्ने दिवास्वप्नमा छन् ।’
कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताए। उनले स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको बताउँदै समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको जानकारी समेत दिए ।





