समाचार

वन ढडेलो नियन्त्रण गर्न अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड

१९ फागुन, काठमाडौँ । सरोकारवालाले वन डढेलो नियन्त्रणका लागि अनुसन्धानलाई प्रथामिकता दिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल वन प्राविधिक सङ्घ एनएफएको स्वर्ण महत्वसको अवसरमा आज यहाँ आयोजित मानव वन्यजन्तु द्वन्द्व र वन डढेलो व्यवस्थापन विषयक नीति संवादमा बोल्दै सरोकारवालाले अनुसन्धानले प्रथामिकता पाउन नसकेको भन्दै यस विषयमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा जोड दिएका हुन् । वन डडेलो व्यवस्थापन कसरी गर्ने ? देखिएका समस्या र समाधानका उपाय, परिमार्जन गर्नुपर्ने नीतिलगायतका विषयमा विस्तृत अध्ययन अनुसन्धान हुन नसकेको भन्दै अनुसन्धान बढाउनुपर्नेमा उनीहरुको जोड थियो ।

संवादमा वन तथा वातावरण मन्त्रालयका सह–सचिव दिपक ज्ञावालीले वन अनुसन्धानको आधारमा ढडेलोसम्बन्धि नीति परिमार्जन गर्न नसकिएको बताए । “डढेलो कसरी नियन्त्रण गर्ने ? किन समस्या समाधान भइरहेको छैन ? अवको दिर्घकालिन रणनीति के हुने ? भन्ने विषयमा विस्तृत अनुसन्धान गरेर नीति परिमार्जन गर्नु आजको आवश्यकता हो,” उनले भने, “डढेलो व्यवस्थापनका नयाँ नयाँ प्रविधि र उपायसमेतलाई समावेश गरी नयाँ नीति परिमार्जन गर्नुपर्छ । यसलाई मन्त्रालयले गम्भिर रूपमा लिएको छ ।”

डढेलोविद् कृष्ण भुजेलले वन डढेलो व्यवस्थापनबारे अध्ययन अनुसन्धान नै कम भएको भन्दै अब यसका राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए ।

बर्दियाका डिभिजनल वन अधिकृत विजय सुवेदीले डढेलो नियन्त्रणका लागि अग्नि रेखा बनाउनुपर्ने, सक्षम जनशक्ति उत्पादनमा जोड दिनुपर्ने र आगो लागेको जानकारी छिटो थाहा पाउन सकेमा नियन्त्रणमा सहज हुने बताए ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड की उपमा कोजुले डढेलो नियन्त्रणका लागि प्रविधिमा लगानी बढाउनुपर्ने र सुचनाको प्रयोग बढाउनुपर्ने बताए ।

यसैगरी प्रस्तुतकर्ता तथा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका उप–सचिव सुदिप छत्कुलीले डढेलो नियन्त्रणका लागि सरकार, समुदाय र निजी क्षेत्र तथा तीनै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए ।