राजनीति

तालाबन्दीका कारण आरआर क्याम्पसको स्ववियु निर्वाचन स्थगित

५ चैत, काठमाडौँ । आज हुने भनिएको रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्ववियु निर्वाचन तालाबन्दीका कारण अन्तिम चरणमा आएर स्थगित भएको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड जारी गरेको भन्दै एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुले तालाबन्दी गरेपछि निर्वाचन अनिश्चित बनेको हो।  ।

 सबै तयारी पूरा भइसकेको अवस्थामा अनेरास्ववियुले मध्ये राती नै क्याम्पसको मूल गेटमा तालाबन्दी गरेको छ। अनेरास्ववियुले एक विज्ञप्ति जारी गर्दै आरआर क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड जारी भएकाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस घटनाको निष्पक्ष छानबिनको माग गर्दै छानबिन नहुँदासम्म निर्वाचन हुन नसक्ने बताएको छ। 

निर्वाचन समिति संयोजक महेश भट्टराई र क्याम्पस प्रमुख डा. पद्मकुमार अधिकारीले एक सूचना जारी गर्दै सम्पूर्ण तयारी भइसकेको अवस्थामा तालाबन्दी हुँदा प्रतिकूल अवस्था सिर्जना भएकोले निर्वाचन स्थगित गरेको बताएका छन् ।

सूचनामा सम्बन्धित सरोकारवालासँग छलफल गरी अर्को मिति तोक्ने गरी हाललाई निर्वाचन स्थगित गरिएको भनिएको छ।