६ चैत, काठमाडौँ । हिजो टोखा क्षेत्रबाट २५ करोड एक लाख भन्दा बढी रकम र ट्रकसहित पक्राउ परेका ट्रक चालक कुसाङ लामालाई प्रहरीले राजवश्व अनुसन्धान विभाग कार्यालय हरिहर भवन, ललितपुरमा बुझाएको छ।
ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय फुच्चे भनिने लामालाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको हो । चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा नेपाली रुपैयाँ २५ करोड भन्दा बढी डलर र युरो प्रहरीले बरामद गरेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रकमसहित टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।बरामद गरिएको युरो, डलरसहित थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको हो।
उनीमाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको हुँदा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान हुने भएको छ।
पक्राउ परेका लामा यस अघि पनि सात किलो सुन तस्करीको आरोपमा दोषी ठहर भई पाँच वर्ष कैद भुक्तानी गरेर छुटेका थिए।





