१७ चैत, काठमाडौँ । धनुषाको जनकपुरधाम–२३ विन्धीमा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ।
होली खेल्ने क्रममा भएको हत्या प्रकरणका दोषीहरूलाई पक्राउ गर्नुपर्ने मागसहित स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
सडक खुलाउन खोज्दा प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुङ्गामुढा गर्दै प्रतिरोध गरेका छन्। झडपमा केही प्रहरी र स्थानीय घाइते भएका छन्, तर विस्तृत विवरण आउन बाँकी छ।
हत्या आरोपमा धर्मेन्द्र महतो पक्राउ परिसकेका छन्, तर उनलाई सहयोग गर्ने अन्य अभियुक्तहरू अझै फरार छन्। अभियुक्तहरूको खोजी जारी रहेको स्रोतले जानकारी दिएको छ।





