समाचार

निजामती विधेयकमा भएको गडबडीकाे बारेमा छानबिन समितिलाई गल्ति पत्ता लगाउन प्रमुख ४ राजनीतिक दलका मुख्य सचेतककाे सुझाव

५ साउन, काठमाडौं । देशका प्रमुख चार राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरूले निजामती विधेयकमा भएको गडबडीकाे विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गल्ति पत्ता लगाउन सुझाव दिएका छन् ।

साेही समितिले सोमबार सत्तारूढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएको हाे ।

कांग्रेसका प्रमुख सचेतक घिमिरेले निजामती विधेयकमा अधिकांश राजनीतिक लदका नेता र नागरिकहरूकाे समेत चासो रहेको र यो स्वभाविक भएको उल्लेख गरेका छन् । त्यस्तै, एमालेका प्रमुख सचेतक बर्तौलाले गल्ति पत्ता लगाउन समितिलाई सुझाव दिएका हुन् । निजामती विधेयकमा भएको गडबडी ह्युमन इरर हो कि इन्टेसन हो पत्ता लगाउन समेत उनले सुझाव दिएका छन् ।

कांग्रेसका प्रमुख सचेतक घिमिरे र एमालेका मुख्य सचेतक बर्तौला कुलिङ पिरियड चाहिन्छ वा चाहिंदैन भन्ने विषयमा प्रवेश नगरेकाे बुझिएकाे छ । माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे र रास्वपाका प्रमुख सचेतक परियारले भने ‘कुलिङ पिरियड’ लागू हुन नदिने गरी षडयन्त्र भएको समेत आराेप लगाएका छन् ।

माओवादीका प्रमुख सचेतक पाण्डेले विधेयकमा उच्च पदस्थ कर्मचारीको संलग्नता रहेकाे दावी गरेका हुन् । साेही समितिबाट दोषीलाई कडा कारबाही गर्नका लागि सिफारिस हुनुपर्नेमा जाेड दिएका छन् ।