उर्जा

ऊर्जामार्फत जननेता बीपीको सपना साकार पार्ने ऊर्जामन्त्री खड्काकाे दावी

६ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत जननेता बीपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ ।

महामानव बीपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बीपी स्मरण कार्यक्रम’ लाई सम्बाेधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले बीपी कोइरालालाई नेपाली जनचेतना र अधिकारका प्रतिकका रूपमा स्मरण समेत गरेका छन् । बीपी कोइराला अन्तर्राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्व मात्र होइन, उनको आदर्श, दृष्टिकोण र जीवनशैली आजको राजनीतिक सन्दर्भमा अझ सान्दर्भिक र प्रेरणादायी भएकाे मन्त्री खड्काकाे तर्क थियाे ।

बीपीले आफ्नो व्यक्तिगत जीवनको सुख सुविधा र सुरक्षा भन्दा विचार तथा मूल्यलाई महत्व दिएको पनि उनकाे भनाइ छ। मन्त्री खड्काले बीपी कोइरालाको दीर्घ संघर्षले नेपाली जनतालाई रैतिबाट नागरिक बनाउने प्रक्रिया अघि बढाएको उल्लेख गरेका हुन् । बीपीले जेल, यातना र आत्मनिवेदन सहेकाे बताउदै उनले तर पनि जनताप्रति विश्वास नगुमाएकाे बताएका छन् । आज पनि बीपीले देखाएको बाटो हाम्रो मार्गदर्शन भएकाे उनकाे भनाइ थियाे ।

राज्यले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने दायित्वबोध बीपीको राजनीतिक दर्शनमा स्पष्ट रूपमा झल्किने उनले बताएका छन् । मन्त्री खड्काले बीपीको सम्पूर्ण जीवन नेपाली जनता र राष्ट्रहितमा समर्पित रहेको स्मरण समेत गरेका हुन् । मन्त्री खड्काले बीपीको आत्मनिर्भर राष्ट्र निर्माणको सोचसँग ऊर्जा क्षेत्रको विकासलाई जोड्दै लगिएको समेत दावी गरेका छन्।

ऊर्जा उत्पादन, प्रसारण र विस्तारमा आत्मनिर्भरतातर्फ लम्किरहेकाे र बीपीले देखेको समृद्ध नेपालको सपना साकार पार्न सबैको साझा प्रयास आवश्यक रहेकाे उनकाे भनाइ थियाे ।