राजनीति

ओली नेतृत्वको सरकारमा सहभागी भएर काम गर्न नसकेका मन्त्रीलाई फिर्ता बोलाउन सभापति देउवालाई दवाव

६ साउन, काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएर काम गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन सभापति शेरबहादुर देउवालाई नेताहरूले दवाव दिएका छन् ।

सभापति देउवाकाे निवास बुढानीलकण्ठमा मंगलबार पुगेर पूर्वउपसभापतिहरू विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले काम गर्न नसकेका मन्त्रीहरूलाई फिर्ता बोलाउन दवाव दिएका हुन् । सभापति देउवालाई भेटेर सहभागी पूर्व उपसभापति श्रेष्ठले सरकारमा गएको एक वर्ष पुगेका कारण पार्टीका तर्फबाट मन्त्री बनेकाहरूको कार्यसम्पादन मूल्याङ्कन गर्दै राम्रो काम गर्न नसक्नेलाई फिर्ता बोलाउन सभापतिलाई सुझाव दिइएको बताएका छन् ।

नेताहरूले सरकारको कामको मूल्याङ्कन गर्न र सरकारलाई चुस्त-दुरुस्त बनाउन पहल लिन पनि सुझाएकाे बताएका हुन् ।सरकारको काम चुस्त-दुरुस्त बनाएर पार्टी कार्यकर्ताकाे माझमा मात्रै नभएर आगामी भदौदेखि जनतासम्म पुग्ने वातावरण निर्माण गर्न सभापति देउवालाई आफूहरूले आग्रह गरेको समेत उनीहरुले बताएका छन् ।