७ साउन, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पार्टीको विधान संशोधन सम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मत रुपमा पारित गरको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा यहि साउन ५ र ६ गते बसेको बैठकले मुलुकको समसामयिक राजनीतिक गतिविधि, सरकारको प्रभावकारिता र विधान महाधिवेसनलगायत समसामयिक विषयमा ८ बुँदे प्रस्ताव पारित गरको हो । त्यसैगरी, बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई उच्च सम्मान व्यक्त गर्ने निर्णय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विशेषगरी विधान संशोधन सम्बन्धी प्रस्तावमा घनिभूत रुपमा छलफल भएको सोही बैठकमा २ सय ६४ जना सदस्यहरूले आ–आफ्नो धारणा राखेपछि ८ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिएका हुन् ।
बैठकमा पार्टी अध्यक्ष ओलीले मुलुकको समसामयिक राजनीतिक विकासक्रम, पार्टीलाई अझ सशक्त र लोकप्रिय बनाउने र विधान महाधिवेशनलगायत विषयमा धारणा राखेको उनले बताएका छन्। त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा.डा पुष्प कँडेल र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहराले आ–आफ्नो आयोगको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए भने महासचिव शंकर पोखरेलले संगठनात्मक कामका बारेमा जानकारी गराएका हुन् । केन्द्रीय कमिटीका सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समावेश गरी विधान संशोधन सम्बन्धी प्रस्ताव पार्टीको प्रदेश र जिल्ला कमिटीहरूमा थप सुझावका लागि पठाइने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिएका छन् ।
सोही बैठकले एमाले र नेपाली कांग्रेसबीच सम्पन्न ७ बुँदे सहमतिको जगमा उभिएर पार्टी अध्यक्ष ओलीको नेतृत्वमा बनेको वर्तमान सरकारले बलियो राजनीतिक स्थायित्वको आधार तयार गरी सुशासनसहित देश र जनताका पक्षमा काम गरको ठहर गरेको छ । वर्तमान सत्ता सहकार्यलाई ७ सहमति कार्यान्वयनमा दृढताका साथ लाग्न र सरकारलाई अझ प्रभावकारी एवं गतिका साथ अगाडि बढाउन बैठकले आह्वान गरेको छ ।
बाह्य सम्बन्धमा थप अनुकूलता सिर्जना गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको उपस्थिति, ‘एजेन्डा’ र भूमिकालाई प्रभावकारी बनाउन वर्तमान सरकार सफल भएको बैठकले निष्कर्ष निकालेको हो । प्रस्तावमा भ्रष्टाचार र अनियमितताप्रति निःसर्त विरोध एवं सुशासन र विधिको शासनप्रति अविचलित निष्ठा पार्टीको आधारभूत मान्यता रहँदै आएको र यसै मान्यतामा उभिएर भ्रष्टाचार विरुद्धका कानुनहरू निर्माण गर्न, नियमनकारी निकायहरूलाई प्रभावकारी बनाउन र समाजमा सुशासनका पक्षमा जनचेतना अभिवृद्धि गर्न पार्टी निरन्तर क्रियाशील रहँदै आएको जनाइएको छ ।
बैठकले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति श्रद्धासुमन अर्पण गर्दछ र उहाँको आदर्शलाई पछ्याउँदै नेपाली कम्युनिष्ट आन्दोलनलाई थप सुदृढ, एकताबद्ध र निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने सङ्कल्प गरेको छ ।त्यसैगरी, जलवायु अनुकूलका कार्यक्रमहरुको विस्तार र चुरे क्षेत्रको संरक्षण एवं पुनर्भरणका विशेष कार्यक्रमहरू तत्काल कार्यान्वयन गर्दै तराई मधेशको दीर्घकालीन समस्या समाधान गर्न सरकारसँग माग गरेको हो ।
केन्द्रीय कमिटीको बैठकले नेपाली किसानहरूले भोग्नुपरेका समस्याहरूको तदारुकताका साथ समाधान गर्न, किसानको जीवनस्तर माथि उठाउन र खाद्य सुरक्षा प्रत्याभूत गर्न सरकारको ध्यानाकर्षण गरेको छ । त्यसैगरी, गत असार २४ गतेको अविरल वर्षा र बाढीले रसुवामा जनधनको ठूलो क्षति पुर्याएका कारण पीडितहरूलाई राहत र ध्वस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै मितेरी पुल यथाशीघ्र निर्माणका लागि मित्रराष्ट्र चीनसँग आवश्यक समन्वय र कूटनीतिक पहलका लागि बैठकले आह्वान गरेको छ ।





