७ साउन, चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने विषय महासमितिबाट पारित गरेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले ४३ औँ बीपी स्मृति दिवसको सन्दर्भमा बुधबार आयोजना गरेको बीपी विचार र पार्टीमा रुपान्तरणको अभियान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पन्ध्रौँ महाधिवेशनमा जसले नेतृत्व गरे पनि अब रुखमा बाहेक अन्यत्र भोट हाल्नुपर्ने अवस्था नआउने उनको भनाइ थियो ।
गठबन्धन नगरे सरकारमा पुगिन्न की भन्ने डरले, अर्को मिलेर सरकारमा गइदेला भन्ने डरले, सरकार-सत्ता भन्ने कुराको डर र लोभले गर्दा गठबन्धन गर्ने प्रणलीको विकास भएको उनको तर्क छ। यसबाट बाहिर निस्कँदा पार्टी बन्ने र कुनै पनि नेता तथा कार्यकर्ताले सिद्धान्तसँग सम्झौता गर्न सक्दिन भनेर आफूलाई प्रस्तुत गर्न सक्यो भने तत्कालको लाभ नपाए पनि पार्टी बलियो बन्ने उनको भनाइ थियो ।
सोही कार्यक्रममा युवा नेता प्रमोद हरि गुरागाई, महासमिति सदस्य विष्णु पाण्डे, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष सुरेश आचार्य, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुली, शिक्षक संघ चितवनका अध्यक्ष इन्दिरा मरहठ्ठा अधिवक्ता उद्धव लोहनी, गोविन्द सिग्देल, प्राध्यापक प्रदीप वाग्ले, कृष्णप्रसाद न्यौपाने, रमेश खनाललगायतले पार्टीलाई सुझाव दिएका थिए । जिल्ला सभापति राजेश्वर खनालले पेशाकर्मीहरुबाट आएका सुझाव पार्टीका लागि महत्वपूर्ण रहेको बताएका छन् ।





