७ साउन, काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशैभरीका प्रमुख ४ वटा राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका, हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट-डोल्पा भेरी करिडोर अवरुद्ध भएको जनाएको हो ।
त्यसैगरी, वर्षाका कारण अवरुद्ध भएका ६ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । टोखा नगरपालिका-२ स्थित काठमाडौं-नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएको कार्यालयले जनाएको छ ।





