समाचार

पहिरोका कारण तातोपानी नाका पूर्णरूपमा अवरूद्ध

७ साउन, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्ण रूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले बुधबार बिहान करिब ५ बजे भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको बताएका छन्। पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्ण रूपमा रोकिएको उनको भनाइ थियो ।

पहिरो झर्ने क्रम अझै नरोकिएका कारण हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिएका हुन् । इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिंदै आएको उनको भनाइ छ । पटक-पटक सडक भासिने समस्या आइरहेको सोही क्षेत्रमा २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको अध्यक्ष शेपाले बताएका हुन् ।

हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाको बारेमा सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको बताएका छन् ।