७ साउन, रुकुमपूर्व । रुकुमपूर्वमा जंगली च्याउ खाँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ ।
भूमे गाउँपालिका-५ सेराबाङका ३ वर्षीय योजन बिक र ६ वर्षीया भाग्यरेखा बिकको मृत्यु भएको हो । योजनको मंगलबार दिउँसो र भाग्यरेखाको मंगलबार राति राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । सोही परिवारका अन्य २ जना भने गम्भीर घाइते भएका हुन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उनकी छोरी ९ वर्षीया आयुषा बिकको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ ।
यहि साउन २ गते जंगलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुमपूर्व अस्पतालमा आएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले साउन ६ गते राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । २ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
बाँकी २ जनालाई भने नेपालगञ्ज भेरी अस्पताल पठाइएको प्रहरी कार्यालयले जनाएको हो ।





