समाचार

युवालाई पहिलो प्राथमिकतामा राखेर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने प्रधानमन्त्री ओलीको दावी

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई पहिलो प्राथमिकतामा राखेर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन् ।

युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकालाई उनीहरुको पूँजी, सीप र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्ने उनले बताएका हुन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले २०८२ सालदेखि २०९२ साललाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको पनि स्पष्ट पारेका छन् ।

नेपालको विकासका प्रमुख क्षेत्रहरू जस्तै कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठूलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने अवस्था रहेको उनको जवाफ थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रुपमा पुनःसंरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति लिएको उनले जानकारी गराएका छन्।

वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई लक्षित गरी हाल कोशी र मधेश प्रदेशका २० पालिकामा रेमी परियोजना अन्तर्गत पुनः एकीकरण र उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ थियो। जेन जी पुस्तालाई लक्षित गरी स्टार्ट अप र नवप्रवर्तन कार्यक्रम मार्फत उद्यमशीलता विकासका कार्यक्रम सञ्चालन भइरहेको उनले बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने आफ्नो अठोटमा आफू स्पष्ट रहेको समेत दावी गरेका छन् । ब तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटनालाई कुनै पनि सहन नसकिने पनि उनले उल्लेख गरेका थिए । कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने समेत उनले संसदमा जवाफ दिएका छन्।