७ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रले महिलाहरुलाई राज्यको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।
काठमाडौंमा बुधबार माक्सवादी ज्ञान केन्द्रद्वारा आयोजित ‘गणतन्त्र अगाडि र पछाडिको नेपाल: एक तुलनात्मक अध्ययन’ नामक पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । जुन सुकै दलका भए पनि महिलाहरु पदमा आउँदा आफूलाई गर्व लाग्ने र विद्रोहको औचित्य प्रमाणित भएको समेत उनको दावी छ ।
लामो त्याग, संघर्ष तथा सहिदहरुको बलिदानका कारण मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र त्यसले पछाडि परेका वर्गलाई अगाडि आउन महत्वपूर्ण योगदान गरेको समेत उनले स्मरण गरेका थिए । अध्यक्ष दाहालले जाति भाषा, धर्म, संस्कृति र इतिहासप्रति सम्मान गर्न सकिएन भने देश सफल हुन नसक्ने पनि बताएका छन् । देश छाड्नुपर्छ, देशमा केही भएको छैन, सबै खत्तमै भयो भन्ने भ्रम छर्ने प्रवृत्तिविरुद्ध प्रतिवाद गर्ने औजारका रुपमा पुस्तक सार्वजनिक भएको समेत उनले टिप्पणी गरेका छन् ।
सोही कार्यक्रममा नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले गणतन्त्र अघि भन्दा गणतन्त्र आएपछि देशका अधिकांश क्षेत्रमा उल्लेख्य प्रगति भएको चर्चा गरेका थिए । विकसित मुलुकको तुलनामा नेपालमा छिटो प्रगति भएको उनले दावी गरेका छन् । त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश स्नेहीले गणतन्त्रलाई असफल पार्ने प्रयास भइरहेको बताएका थिए । त्यसलाई सफल हुन दिन नहुनेमा जोड दिँदै गणतन्त्रका पक्षमा सबै एक हुनुपर्ने धारणा समेत उनले व्यक्त गरेका छन् ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सचिवालय सदस्य डा. जितेन्द्रदेव गिरीले गणतन्त्रवादी शक्तिहरु एक ठाउँमा आएर गणतन्त्रको रक्षाका लागि काम गर्नुपर्नेमा जोड दिए।





