८ साउन, एजेन्सी । चीनले बिहीबार कम्बोडिया र थाइल्यान्डबीच भएको द्वन्द्वप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भनेका छन्,-'वर्तमान घटनाक्रमप्रति गहिरो चिन्तित छौं। दुवै पक्षले संवाद र परामर्शमार्फत समस्याको उचित समाधान गर्ने आशा गर्दछौं । असल छिमेकी भावना र मतभेदलाई उचित तरिकाले व्यवस्थापन गरे दुवै पक्षको दीर्घकालीन हित हुने उनले बताएका हुन् ।
दशकौंदेखि चलिरहेको यो द्वन्द्व गत मे महिनामा रक्तपातपूर्ण सैन्य झडपमा परिणत हुँदा कम्बोडियाका एक सैनिकको मृत्यु भएको जनाइएको छ । बिहीबार कम्बोडियाले थाइल्यान्डमा आक्रमण गरेपछि र थाई सेनाले हवाई जवाफमा एफ–१६ जेटहरू परिचालन गरेपछि द्वन्द्व भड्किएको हो।
झडपमा परी १२ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौं घाइते भएको जनाइएको छ । कम्बोडिया लामो समयदेखि अर्बौं डलरको लगानी प्राप्त गर्दै चीनको कट्टर सहयोगी रहेको छ । चीनले द्वन्द्वमा ‘निष्पक्ष र निष्पक्ष स्थिति’अपनाउने जनाएको हो।
प्रवक्ता गुओ जियाकुनले बेइजिङले शान्ति र संवाद प्रवद्र्धन गर्न आफ्नै तरिकाले सक्दो प्रयास गरेको बताएका छन् । परिस्थितिलाई सहज बनाउन प्रोत्साहन गर्न रचनात्मक भूमिका खेल्ने उनको भनाइ थियो ।





