आर्थिक

सानिमा बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा

९ साउन, काठमाडौं । सानिमा बैंकले फोनपेसँगको सहकार्यमा अन्तर बैंक टेलर क्यूआर कारोबार सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङ्ग प्रविधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुविधा दिने उद्देश्यका साथ बैंकले सोही कारोबार सञ्चालनमा लिएको जनाएको हो । सोही सेवा अन्तर्गत ग्राहकहरुले फोनपे नेटवर्कमा आबद्घ अन्य बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सानिमा बैंकको कुनै पनि शाखाबाट रकम झिक्न सक्ने भएका छन् ।

यस सेवाले दुर्गम स्थानका शाखामा सिमित एटिएम पहुँच भएका ग्राहकहरूलाई आपत्कालीन अवस्थामा रकम झिक्न सहयोग गर्ने समेत बैंकले जनाएको हो । अन्य सेवा शुल्क जस्तै अनलाइन शुल्क-एफसीवाई सटही भुक्तानीका लागि पनि उपयोगी हुने भएको छ ।

सानिमा बैंकका हाल देशका ६ वटै प्रदेशमा १ सय ३४ वटा कार्यालयहरु र १ सय २७ वटा एटिएमहरु संचालनमा रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।