९ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका ४ जना मन्त्रीहरूले शुक्रबार राजीनामा दिएका छन्।
युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्। बागमती प्रदेश सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र०८३ को बजेटमा विवाद उत्पन्न भएपछि कांग्रेसकै मन्त्रीहरू असन्तुष्टि भएका थिए। उनीहरूले मुख्यमन्त्री बहादुर सिंह लामा र अर्थमन्त्री कुन्दनराज काफ्लेले आफ्नो क्षेत्र निकट बजेट खन्याएको आरोप लगाउदै आएका थिए।
राजीनामा दिएका चारै जना मन्त्रीले केही दिनअघि मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए। महर्जनले प्रदेश सरकारको एक वर्ष असफल भइसकेको समेत बताएका छन्। महर्जनले अर्थमन्त्री काफ्लेले बजेट निर्माणको क्रममा लापरबाही गरेको आरोप लगाएका थिए। महर्जनले भनेका छन्,-‘बजेट विवादको विषय तपाईहरूलाई थाहा नै छ। यस्तो असफल सरकारमा बस्नु भन्दा राजीनामा दिएकै बेस भनेर चारै जना मिलेर राजीनामा दिएका हौं । अब हामी मुख्यमन्त्री विरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गर्दैछौं।’
३७ जना कांग्रेस सांसद रहेको बागमती प्रदेशमा २४ जना सांसदहरूले संसदीय दलमा हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ताका लागि तयारीमा रहेको मन्त्री महर्जनले बताएका छन् ।





