राजनीति

‘राजनीतिमा लाग्नका लागि मलाई संविधानले रोक्दैन’: पूर्वराष्ट्रपति भण्डारी

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई राजनीतिमा लाग्न संविधानले नरोक्ने दावी गरेकी छन् ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांकेटमा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेकी हुन् । भण्डारीले पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोकेको उनको तर्क थियो । उनले आमसञ्चार माध्यम, पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधारणबाट आफ्नो भावि राजनीतिक यात्राको बारेमा चासो व्यक्त हुँदै आएको समेत बताएकी छन्।

विगत १ वर्षदेखि त व्यापक रुपमै आफ्नो बारेमा सञ्चारमाध्यमले सरोकार राखेको सबैलाई अवगतै भएको समेत उनको भनाइ थियो । राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक विषय र अन्तर्राष्ट्रिय राजनीति परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन मनन गर्दैं आएको समेत उनको भनाइ छ ।

भण्डारीले आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने र नबढाउने भन्ने विषयमा उपयुक्त समयमा जानकारी गराएको समेत बताएकी हुन् । केही दिन अघि मात्रै सम्पन्न भएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नै गर्न नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो ।

तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने पूर्वराष्ट्रपति भण्डारीले दावी गर्दै आएकी छन्‌ ।