आर्थिक

वीरगञ्ज नाकाबाट १ अर्ब ६४ करोड बढीका विद्युतीय सवारी आयात

९ साउन, पर्सा । पर्साको वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा १ अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला २ हजार ३ सय ३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब ८० करोड ४५ लाख राजस्व संकलन गरेको जनाएको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले वीरगञ्ज नाका हुँदै विद्युतीय भन्दा इन्धनबाट चल्ने सवारीसाधन बढी भित्रिएको बताएका छन् । गत आवमा १२ करोड ६ लाख मूल्य पर्ने १६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका हुन् । सोही सवारीसाधनको आयातबाट १९ करोड ७४ लाख राजस्व संकलन भएको उनले जानकारी दिएका छन् ।

सोही अवधिमा ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमताका १३ करोड ४ लाख मूल्य पर्ने ५० थान विद्युतीय जिप, कार र भ्यान आयात भएका हुन् । एक सय एक किलोवाटदेखि दुई सय किलोवाट क्षमताका २४ करोड ८० लाख मूल्य बराबरका ३६ थान विद्युतीय जिप, कार र भ्यान आयात भएका छन् । यो नाका हुँदै ४३ करोड २ लाख मूल्य पर्ने १ हजार ८ सय २१ थान विद्युतीय मोटरसाइकल आयात भएका हुन् । 

प्रमुख भन्सार प्रशासक लामिछानेले १२ करोड ६ लाख मूल्य पर्ने २ सय एक किलोवाटदेखि ३ सय किलोवाट क्षमताका १६ थान विद्युतीय जिप, कार र भ्यान पनि आयात भएका छन् ।