१० साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावनाले मात्रै कम्युनिष्टको एकता हुन नसक्ने बताएका छन्।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। कम्युनिष्टहरू एकताबद्ध हुनु राम्रो कुरा भएको तर सही विचार नभईकन एकता गर्न नसकिने उनको भनाइ छ।
सही विचार भनेको अहिलेको अवस्था नेपाल कुन ठाउँमा आइपुग्यो भन्ने मूल्यांकन गर्नु रहेको उनले बताएका थिए । नेपाल अहिले जनवादी क्रान्तिको कालखण्ड पार गरेर समाजवादी क्रान्ति र रूपान्तरणको युगमा आइपुगेको समेत उनको तर्क छ ।
सम्मानित नेता खनालले कम्युनिष्टहरूका मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद भएको समेत बताएका थिए ।





