अन्तर्राष्ट्रिय

भारतको एक मन्दिरमा भागदौड हुँदा ६ जनाको मृत्यु, १० बढी घाइते

साउन, एजेन्सी । भारतको उत्तराखण्ड राज्यमा रहेको एक प्रसिद्ध हिन्दू मन्दिरमा आइतबार भागदौड हुँदा ६ जनाको मृत्यु भएको छ ।

हिन्दूधर्मावलम्बीको पवित्र शहर हरिद्वारस्थित गङ्गा नदीको किनारमा रहेको मनसा देवी मन्दिर जाने सिँढीमा भागदौड हुँदा १० जना बढीं घाइते भएका भारतीय संचार माध्यमहरुले जनाएका हुन् ।
घाइतेलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले राहत र उद्धारकार्य जारी रहेको समेत बताएका हुन् । स्थानीय प्रशासनसँग निरन्तर सम्पर्कमा रहेको समेत उनको भनाइ छ । सोही घटनाको बारेमा निरन्तर रुपमा अनुगमन भइरहेको पनि उनले बताएका थिए ।

धार्मिक पर्वहरूमा घातक भागदौड र भीडभाडका कारण यस्ता दुखद घटना हुने गरेका छन् । गत जुन महिनामा तटीय राज्य उडिसामा एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिंदा ३ जनाको मृत्यु हुनुका साथै कैयौं घाइते भएका थिए । गत महिना पश्चिमी राज्य गोवामा एक लोकप्रिय अग्नि लिएर गरिने पैदल अनुष्ठानको लागि हजारौं मानिसहरू भेला भएको समयमा घटेको यस्तै घटनामा ३ जनाको मृत्यु भएको थियो।

गत जनवरीमा उत्तरी शहर प्रयागराजमा हिन्दूहरूको महान् पर्व कुम्भ मेलामा भएको झडपमा परी ३० जनाको मृत्यु भएको समेत भारतीय संचार माध्यमहरुले जनाएका छन् ।