१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७ वटै प्रदेशमा रेबिजविरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधी आपूर्ति गरेको छ ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले यस अघि नै खरिद भएर आर्पूतिका क्रममा रहेको औषधी प्रदेश सरकारहरुका स्वास्थ्य संस्थामा वितरण गर्ने गरी आपूर्ति केन्द्रहरुमा पुगिसकेको बताएका हुन्। रेबिज तथा सर्पदंश उपचारमा प्रयोग हुने खोप तथा औषधी अभाव भएको समाचार आए लगत्तै चासो लिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई अभाव नहुने गरी तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन समेत दिएका थिए।
उनले आपूर्ति गति बढाएर तथा भावी दिनमा अभाव हुन नदिने गरी आवश्यक सबै उपाय अपनाउन अधिकारीहरुलाई बोलाएर भनेका थिए । सोही अनुसार विभागले सबै प्रदेशहरुमा दुवै प्रकारका औषधी आपूर्ति गरेको हो । विभागको तथ्यांकअनुसार रेबिजविरुद्ध उपयोग हुने ५१ हजार एक सय ८० भायल भ्याक्सिन प्रदेश आपूर्ति केन्द्रहरुमा पुगिसकेको छ ।
सबै भन्दा बढी बागमती प्रदेशमा आपूर्ति गरिएको छ । बागमतीमा १० हजार ८० भायल रेबिजविरुद्धको खोप आपूर्ति भएको छ । सर्प दंशविरुद्धको १ हजार भायल भेनम आपूर्ति भएको हो । त्यसैगरी, सर्पदंशका बढी समस्या आउने मधेशमा सर्प दंशविरुद्धको भेनम सबै भन्दा बढी २ हजार ५ सय तथा रेबिजविरुद्धको खोप करिब ५ हजार भायल आर्पूति गरिएको छ ।
मागका आधारमा अन्य प्रदेशहरुमा पनि भ्याक्सिन तथा भेनम आपूर्ति गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका हुन्। विभागले हाल आपूर्ति भएका अतिरिक्त २ महिनाभित्र हालको आपूर्तिको ४ गुणा बढी आपूर्ति हुने गरी व्यवस्था मिलाएको विवरण दिएको छ ।





