१३ साउन, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहने भएको छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी तराई भू–भागमा आंशिक बदली रहने भएको छ ।
लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।





