१३ साउन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणका क्रममा व्यापार क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्च तहमा वार्ता गर्नेगरी तयारी भइरहेको बताएका छन् ।
काठमाडौंमा मंगलबार नेपाल फ्रेट फरवार्डस् एसोसिएसन’ले ३१औं कार्गो दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री भण्डारीले व्यापार समस्या समाधानका विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनेगरी मन्त्रालयको कार्यक्रम तय भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा व्यापार प्रवद्र्धनका विषयमा पनि वार्ता हुने उनको भनाइ थियो । नेपालको पहिलो बजार छिमेकी देश भारत र चीन भएका कारण दुवै देशबीच हुने व्यापार समस्या समाधान गर्न सरकारले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
दुवै देशबीच व्यापारको स्तरवृद्धि हुनेगरी काम गर्न मन्त्रालयले पहल गरिरहेको मन्त्री भण्डारीले बताएका हन् । अरूका वस्तु खरिद गरेर मात्र व्यापार नहुने समेत उनले उल्लेख गरेका छन् । आफ्नो देशका उत्पादन विदेशमा निर्यात गरेर बिक्री बढाउने वातावरण बनाउने गरी काम भइरहेको उनको भनाइ थियो ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डे र आयोजक संस्थाका अध्यक्ष राजेन्द्र सङ्ग्रौला लगायतले नेपालले अन्य देशसँग गरिरहेको व्यापार प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन्।





