१४ साउन, काठमाडौं। बागमती प्रदेश सरकारमा नवनियुक्त ३ जना मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण स्थगित भएको छ ।
मुख्यमन्त्री बहादुरसिंह तामाङले बुधबार बिहान संसदीय दलका प्रमुख सचेतक समेत रहेका धादिङका गोविन्द लम्साल, चितवनकी माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । उनले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका हन्।
उनीहरूको शपथ बुधबार बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी समेत भएको थियो। नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर ३ जना मन्त्रीको शपथ ग्रहण भने अझैको छैन ।
नेकपा एमालेले संवेदनशील अवस्थामा नयाँ मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री तामाङ रोकिएका हुन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बुधबार मुख्यमन्त्री तामाङलाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेका थिए । मन्त्री नियुक्ति र शपथ ग्रहणले गलत सन्देश जाने उनको तर्क छ ।
एमालेको आग्रहपछि मुख्यमन्त्री तामाङ अहिले अन्योलमा परेका हुन् ।





