समाचार

राप्रपा अध्यक्ष लिङ्देनका स्वकीय सचिव कडायतले पाल्पाका गैरेमाथि गरे हेल्मेट प्रहार

१५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका स्वकीय सचिव क्षत्र कडायतले पाल्पाका राजु गैरेमाथि हेल्मेट प्रहार गरेका छन् ।

गत निर्वाचनमा पाल्पामा प्रदेश सभातर्फ (क्षेत्र नम्बर–२ (ख) राप्रपाका उम्मेदवार बनेका गैरेले सामाजिक सञ्जालमा अध्यक्षविरुद्ध लेखेको भन्दै कडायतले हेल्मेट प्रहार गरेका हुन् । बुधबार केही साथीहरूसँगै विशालनगरमा चियागफ गरिरहेको समयमा गैरे भएकै स्थानमा पुगेर कडायतले हेल्मेट प्रहार गरेका थिए ।

साथीहरूसँगै बसेका गैरेलाई केही पर छुट्टै लगेर कडायतले हेल्मेटले प्रहार गरेका हुन् । सामाजिक सञ्जालमा लेखेको भन्दै कडायतले हेल्मेटले प्रहार गरेको गैरेले बताएका छन् । कडायतको विरुद्धमा गैरले प्रहरीमा उजुरी दिएको समेत बताएका छन् ।कडायतले आफूमाथि कुटपिट गरेको भिडियो गैरेले सामाजिक सञ्जालमा पोष्ट समेत गरेका छन् ।

उनले न्याय नपाए पार्टी कार्यालयमा पासो लगाएर मर्ने चेतावनी समेत दिएका छन् ।