समाचार

ठमेल र महाराजगन्ज क्षेत्रमा गुण्डागर्दी गरेकाे आरोपमा चक्रे मिलनसहित ४७ जना पक्राउ

१६ साउन, काठमाडौँ । प्रहरीले काठमाडौबाट गुण्डागर्दीमा संलग्न भएको आरोपमा ४७ जना भन्दा बढीलाई पक्राउ गरेको छ । चर्चित डनको रुपमा चिनिने मिलन चक्रेसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी रहेका प्रहरीको दाबी छ ।

चक्रे मिलन महाराजगन्ज स्थित साम्बाला होटलबाट पक्राउ परेका हुन् । उनी यसअघि २०७४ वैशाख २६ मा पनि महाराजगन्जबाट पक्राउ परेर छुटेका थिए । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँका एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय रहेको दाबी गरिएको छ।

महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेक बहादुर तामाङले बताएका हुन् । उनले भने, ‘अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिएका छौँ, संख्या यकिन हुँदै छ ।’

प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ चोक स्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनी पक्राउ परेका हुन् । नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैँटे’का सहयोगी हुन् । कुमार ‘घैँटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

रेष्टुरेण्ट र रात्रि क्लबमा बसेर झैझगडा गर्ने र हप्ता असुल्ने गरेको गुनासो आएपछि गएराति गुण्डागर्दीविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौँ प्रहरीले गुण्डागर्दीविरुद्ध अपरेसन चलाएको थियो ।

पक्राउ परेकाहरूलाई स्क्रिनिङ गरेर थप अनुसन्धान गरिने प्रहरी अधिकृतहरूले बताएका छन् ।