आर्थिक

आत्मनिर्भरता सीपमूलक तालिमबाटै रोजगारी सिर्जना सम्भव : ऊर्जामन्त्री खड्का

१६ साउन, संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले आत्मनिर्भरता सीपमूलक तालिमबाटै रोजगारी सिर्जना सम्भव रहेको बताएका छन् ।

खाँदबारी नगरपालिका–१ मा पावर हाउस सञ्चालन तथा मर्मत सम्भार सम्बन्धी २० दिने तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खड्काले संखुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा विकसित गर्न स्थानीय जनशक्तिलाई सीपयुक्त बनाउनुपर्ने पनि बताएका छन् ।

उनले अरुण तेस्रो, अपर अरुण, लोअर अरुण र अरुण चौथो जस्ता बहुचर्चित आयोजना निर्माणको चरणमा रहेकाले रहेको समेत बताएका थिए । यसबाट स्थानीय युवाले लाभ लिनुपर्नेमा उनको जोड छ । मन्त्री खड्काले आयोजनाको दीर्घकालीन लाभ र सफलताका लागि प्राविधिक सीप हासिल गरेका स्थानीय युवाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताएका थिए ।

जलविद्युत्को सम्भावनासहितको जिल्लामा सीप विकासमार्फत युवालाई आत्मनिर्भर र आर्थिक रूपले सबल बनाउँदै रोजगारी सृजना गर्नु आजको आवश्यकता भएको उनको तर्क छ। सीप विकास रोजगारीको आधार मात्रै नभएर आर्थिक सबलीकरण र आत्मनिर्भरताको ढोका पनि भएको उनको भनाइ छ । 

ऊर्जामन्त्री खड्काले खाँदबारीमै प्राविधिक शिक्षालय स्थापना गर्ने योजना रहेको, स्वास्थ्य, निर्माण, काठमिस्त्री, पाइप जडान र विद्युतीय क्षेत्रका मिस्त्री जस्ता विभिन्न शाखाका तालिम सञ्चालन गरिने जानकारी समेत गराएका थिए ।

त्यस्तै, सोही मारोहमा खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले तालिमले युवामा आशा, सम्भावना र आत्मनिर्भरताको भावना जागृत गर्ने बताएका छन् । नगरपालिकाले यस्ता पहललाई निरन्तरता दिने समेत उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।