अन्तर्राष्ट्रिय

पाकिस्तानमा विपक्षी दलका सांसदलाई १० वर्षको जेल सजाय

१६ साउन, एजेन्सी । पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा सन् २०२३ मा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसदमा विपक्षी दलका नेतासहित १ सय जना भन्दा बढीलाई बिहीबार दोषी ठहर गरिएको छ ।

पूर्वप्रधानमन्त्री खानको पार्टीले उनीहरुलाई दोषी ठहर गरेको जनाएको हो। खानको रिहाइका लागि दबावमुलक विरोध प्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको छ । खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी ९पिटिआई० ले जारी गरेको विज्ञप्तिमा ६ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको उल्लेख गरेको हो ।

जसमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाका विपक्षी नेता ओमार अयुब खान पनि रहेका छ्न् । उनलाई पूर्वी शहर फैसलाबादको आतंकवाद विरोधी अदालतले हिंसा भड्काउन उक्साएको, दङ्गा भड्काउने र आगजनी गर्ने षडयन्त्र गरेको अभियोगमा दोषी ठहर गरेको थियो । पिटिआईका अध्यक्ष गोहर अली खानले फैसलालाई चुनौति दिँदै यसलाई माथिल्लो अदालतमा अपिल गर्न गइरहेका बताएका थिए ।

उनले यस्ता फैसला लोकतन्त्र र मुलुकका लागि राम्रो नभएको बताएका थिए । पार्टी पदाधिकारीहरू मुद्दाको सुनुवाइका क्रममा जमानतमा रहेको र उनीहरूलाई अझै जेलमा नलगेको जनाइएको छ । गत वर्षको मे ९ तारिखमा खानलाई राजधानी इस्लामावादबाट गिरफ्तार गरिएपछि संवेदनशील सैन्य प्रतिष्ठानहरूलाई लक्षित गरी देशव्यापी विरोध प्रदर्शन शुरु भएको थियो।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खानलाई उनकै शब्दमा ‘राजनीतिबाट प्रेरित’ प्रतिशोधका आधारमा करिब २ वर्षदेखि जेलमा राखिएको छ । उनका समर्थक र पार्टीका वरिष्ठ नेताहरूले पनि कडा दमनको सामना गर्नुपरेको छ । हजारौँलाई पक्राउ गरिएको छ । खानको नाम टेलिभिजनबाट ‘सेन्सर’ गरिएको गरिएको हो।

बेलायतको लण्डनमा रहेका पिटिआईका प्रवक्ता सैयद जुल्फिकार बुखारीले पछिल्लो सजायको फैसला ‘प्रजातन्त्रको लागि लागि कालो दिन’ भएको बताएका छ्न् । विपक्षी नेताहरूलाई एकपछि अर्को गर्दै दोषी ठहर गर्नु कुनै पनि लोकतान्त्रिक प्रणालीका लागि शुभ संकेत नभएको उनको भनाइ थियो ।

जसका कारण पहिलेदेखि नै कमजोर लोकतन्त्रलाई गम्भीर क्षति पुर्याउने उनको तर्क छ ।