१६ साउन, एजेन्सी । दक्षिण अफ्रिकाको प्रमुख वाइन उत्पादन गर्ने रोबर्टसन उपत्यकामाथि अर्को हप्ता लागू हुने ३० प्रतिशतको नयाँ अमेरिकी कर नीतिको कारण निराशा फैलिएको छ ।
बहुमूल्य वाइनमा पहिले विशेष व्यापार सम्झौता अन्तर्गत अमेरिकी कर छुट दिइएको थियो । सम्झौताले कागतीजन्य फल, ‘मकाडामिया’ र एभोकाडोसहित अधिकांश दक्षिण अफ्रिकी उत्पादनहरूलाई संरक्षण गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रको सुधार तथा विश्व व्यापारलाई पुनः आकार दिन अर्को हप्ताबाट लागू हुने गरी नयाँ कर घोषणा गरेपछि अफ्रिकी किसान मारमा पर्नेभएका हुन् ।
नयाँ करहरू लागू हुनु भन्दा केही हप्ता अघि ‘ग्राहम बेक इस्टेट’ नामक एक प्रख्यात वाइन उत्पादकले करिब ३ लाख बोतल अमेरिकी बजारमा पठाएको महाप्रबन्धक पिटर फेरेराले बताएका छन् । नयाँ कर घोषणापछि कृषि मजदुरहरूले विरुवाहरू काटिरहेको उल्लेख गर्दै फेरेराले यस वर्ष उल्लेख्य भण्डार राख्ने उद्देश्य रहेको बताएका थिए ।
अमेरिकी बजारले ‘ग्राहम बेक इस्टेट’को वार्षिक उत्पादनको लगभग १५ प्रतिशत व्यापार सहजीकरण गरी १ सय ३५ जनालाई रोजगारी दिएको उनको भनाइ छ । दक्षिण अफ्रिकाको कृषि निर्यातको ४ प्रतिशत करिब ४ हजार ६ सय मिलियन मूल्य अमेरिकी बजारद्वारा निर्धारित भएको कृषि च्याम्बरले जनाएको हो ।
सन् २०१७ को पछिल्लो तथ्यांक अनुसार रङ्गभेदको अन्त्य भएको दशकौं वर्षपछि पनि कृषियोग्य जमिनको ७० प्रतिशत भन्दा बढी अल्पसङ्ख्यक श्वेत समुदायको स्वामित्वमा रहेकाले यिनीहरु नै ट्रम्पको नयाँ करबाट सबै भन्दा बढी प्रभावित हुने जनाइएको छ । तिनीहरू मध्ये अधिकांश अफ्रिकीहरू रहेका छन्। फेरेराले किसानहरूको मर्का नबुझी कृषि उत्पादनमा ३० प्रतिशत कर लगाएर किसानहरूलाई दण्डित गरिएको भन्दै आपत्ति जनाएका छन् ।
बढ्दो शुल्कले दक्षिण अफ्रिकामा रोजगारी गुमाउन सक्ने केन्द्रीय बैंकका प्रमुख लेसेत्जा कगान्यागोले बताएका हुन् ।
कृषिले अधिकांश कामदारहरूलाई रोजगार दिने भएकाले ‘कृषि क्षेत्रको प्रभाव एकदमै विनाशकारी हुन सक्ने केगन्यागोले बताएका थिए ।
दक्षिण अफ्रिकाको अमिलो जातको फलको उत्पादनको ६ देखि ८ प्रतिशत अमेरिकामा पठाइने उनको भनाइ छ ।





