पर्यटन/संस्कृति

‘पर्यटन विकासका लागि होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण’: पर्यटनमन्त्री पाण्डे

१६ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन विकासका निम्ति होटल क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार एकता होटल तथा गेष्ट हाउस व्यवसायी संघको १३औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले गुणस्तरीय सेवा र आतिथ्य संस्कारको माध्यमबाट पर्यटकलाई आकर्षण गर्नुपर्नेमा जोड दिएका छन् । पर्यटनमन्त्री पाण्डेले होटल व्यवसायमा पाहुनालाई शिष्टाचार , व्यवहार र सेवा सत्कारमा पर्यटक निर्भर हुने बताएका छन्। प्रकृति र संस्कृतिको विविधतालाई पर्यटनसँगै जोडेर लैजानुपर्ने उनको भनाइ थियो ।

पर्वतारोहणका लागि नेपाल भन्दा उत्तम अर्को गन्तव्य नरहेको बताउँदै उनले साहसिक, धार्मिक र प्राकृतिक पर्यटन प्रवर्द्धनमा जोड दिएका छन् । पर्यटनमन्त्री पाण्डेले सरकार नीतिगत सुधार गरी निजी क्षेत्रसँगको साझेदारितालाई बलियो बनाएर पर्यटन विकासमा केन्द्रित हुने विश्वास व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले नेपालको परम्परागत खाना संस्कृतिको प्रवर्द्धन गर्दै उनले मौलिक ढंगले पर्यटन प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । संघका अध्यक्ष सरोज आलेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै एक ढिक्का भएर व्यावसायिक समृद्धिका लागि अघि बढ्न अपिल समेत गरेका थिए ।

अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने समेत उनले बताएका छन् ।