१६ साउन, ललितपुर । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कोदोको प्रवर्द्धनका लागि प्रथम राष्ट्रिय कोदो दिवस घोषणा गरेर मनाउन शुरुवात गरिएको बताएका छन् ।
नेपाली कांग्रेसको व्यावसायिक सीप विकास विभागले पार्टीको केन्द्रीय कार्यालय सानेपामामा शुक्रबार आयोजना गरेको प्रथम राष्ट्रिय कोदो दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पहिले गरिबले खाने भनेर चिनिएको कोदो अहिले धनीको खानामा परिणत भएको बताएका थिए। उनले धनीले खाने भनेर चिनिएको धान दिवस मनाउन हुने तर गरिबले खाने भनिएको कोदो दिवस किन नमनाउने भनेर राष्ट्रिय कोदो दिवस मनाउने निर्णय सरकारले गरेको मन्त्री अधिकारीको भनाइ छ ।
उनले कोदो उत्पादनका लागि रासायनिक मल प्रयोग गर्नु नपर्ने उल्लेख समेत गरेका थिए । मन्त्री अधिकारीले कोदोको परिकार स्वास्थ्यका लागि लाभदायक रहेको समेत बताएका छन् । हिमालमा पाइने याकको संरक्षणका लागि याक दिवस र पहाडमा पाइने कोदोको प्रवर्द्धनका लागि कोदो दिवसको सुरुवात गरेको उनले बताएका हुन् ।
कांग्रेसको नेतृत्वमा भएको असल अभ्यासका रूपमा यी दुवै कार्यहरूको पहिचान कायम रहने उनले बताएका छन् ।





