१७ साउन, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आपराधिक क्रियाकलाप विरुद्धको अभियान नरोक्ने दावी गरेको छ ।
प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न उपत्यका भरी नै अभियान जारी रहेको बताएका हुन् । उनले भनेका छन्,-‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन् । हाम्रो अभियान जारी छ । काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ। खोजी-खोजी कारबाहीको दायरामा ल्याइँदै छ ।’
उक्त अभियान अन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जना मध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले जानकारी गराएका छन् ।
अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनको भनाइ थियो । बताउनुभयो । १९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्ने र उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको समेत उनले बताएका छन् । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै रहेको उनले बताएका हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधि विरुद्धको अभियान जारी रहेको प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक अधिकारीले बताएका छन् ।





