१७ साउन, एजेन्सी । राहतकर्मीहरूले गाजापट्टीमा करिब १० हजार भोकमरी पीडित परिवारलाई खाद्यान्न किन्नका लागि नगद सहयोग दिएका छन् ।
तर, बजारमा खाद्यान्न कम भएका कारण उनीहरूलाई खरिद गर्न कठिनाइ भएको संयुक्त राष्ट्रको मानवीय सहायता समन्वय कार्यालयले जनाएको हो । बजारको मूल्य बढी अस्थिर र अधिकांश मानिसका लागि पहुँच बाहिर रहेको समेत जनाइएको छ । इजरायलले राहत सामग्री पठाउन केही अनुमति दिए पनि गाजामा आवश्यक सहयोग पर्याप्त रूपमा पुग्न सकेको छैन । सहायता सामग्री लैजाने गाडीहरू तोकिएका बाटोमा अवरोध र जोखिमको सामना गरिरहेको कार्यालयले जनाएको हो ।
लामो समयदेखि गाजामा खाद्यान्न अभावले जनजीवन झनै कठिन बनेको छ । खाना खोज्न जाँदा अधिकांश मानिस भने घाइते हुनुका साथै मृत्यु भएको समेत समाचार सार्वजननिक भएको छ । विगत दुई दिनमा मात्रै १ सय भन्दा बढी मानिसहरू खाद्यान्न ढुवानी मार्ग वा इजरायली सैनिक वितरण केन्द्र नजिकै मारिएको जनाइएको छ । संयुक्त राष्ट्र बाल कोषले दैनिक करिब ५ सय ट्रक सहायता सामग्री ल्याउन जरुरी जनाएको हो । ताकि स्थिति सुधार होस्, जनताका पीडा कम होस् सबै नाका र मार्ग प्रयोग गरी गाजामा आवश्यक सामान पुर्याउनुपर्नेमा जोड दिएको छ ।
गाजामा इन्धनको आपूर्तिमा पनि समस्या छ । केही मात्रामा इन्धन गाजामा पुगेको भए पनि अझै अत्यन्त कम भएको हो। स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ र आपतकालीन सञ्चारका लागि दैनिक लाखौं लिटर इन्धन आवश्यक पर्ने जनाइएको छ । मानवीय सहायता ल्याउने गाडीहरू कहिले-काहीं बाटोमा रोक्नुपर्ने भएका कारण कार्य पूरा गर्न लामो समय लाग्ने अवस्था समेत सिर्जना भएको हो।





