१७ साउन, एजेन्सी । श्रीलंकामा बस दुर्घटना हुँदा ४० जना भन्दा बढी गार्मेन्ट कारखानाका कामदारहरू घाइते भएका छन् ।
सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान बस दुर्घटना हुँदा उनीहरु घाइते भएको प्रहरीले बताएको हो । बस अनियन्त्रित भएर सडकबाट चिप्लिएर तल खसेको थियो । सबै घाइतेहरूलाई उपचारका लागि नजिकैको क्षेत्रीय अस्पतालमा भर्ना गरिएको पनि प्रहरीले बताएको छ।
दुर्घटनास्थल रहेको डेहिओविटा पहाडी क्षेत्र भएका कारण दुर्घटनाको समयमा सडक वर्षाका कारण चिप्लो भएको प्रहरीको भनाइ थियो । दुर्घटनाको वास्तविक कारण पत्ता लगाउनका लागि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
श्रीलंकाको पहाडी क्षेत्रमा यस्ता दुर्घटना विशेषगरी वर्षायाममा बारम्बार हुँदै आएका छन् ।





