१७ साउन, काठमाडौं । कैलालीमा एक जना किशोरीको चक्कु प्रहार गरी हत्या भएको छ ।
एक युवकले शनिबार १७ वर्षीया याचना सेजवालमाथि चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । बर्दगोरिया गाउँपालिका-३ घर भएकी सेजवाल सो पालिकाको वडानम्बर १ मा रहेको राजधानी सेकुवा एण्ड मस्म सेन्टरमा काम गर्ने गरेको प्रहरीले बताएको छ ।
सेजवाललाई सोही सेकुवा सेन्टरमा काम गर्ने युवकले चक्कु प्रहार गरी हत्या गरेको प्रहरीले बताएको हो । शनिबार बिहान १० बजेतिर सेजवालमाथि बर्दगोरिया-१ का ३३ वर्षीय नृप साउदले चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीको निसर्ग हस्पिटल पुर्याइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।





