राजनीति

विवादित कुलिङ पिरियडको बारेमा छानबिन समितिको प्रारम्भिक प्रतिवेदन तयार

१७ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयक ‘कुलिङ पिरियड’ को प्रावधानमा त्रुटी भएको भन्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

समितिले तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिने कार्यमा समिति सदस्यहरू रहेका हुन् । विभिन्न व्यक्तिहरूसँग सोधपुछको कार्य सकेर पछिल्लो एक हप्ता देखाएर छानबिन समितिले प्रारम्भिक प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियडको प्रावधान राखेको हो । तर, समितिले तयार पारेको विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड निष्कृय हुने भाषा समेत प्रयोग भएको भनेर प्रश्न उठेपछि प्रतिनिधि सभाले छानबिन गर्न संसदीय विशेष छानबिन समिति बनाएको थियो।

गत असार २३ गते प्रतिनिधि सभाले सोही विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडको बारेमा परिवर्तनका सन्दर्भलाई लिएर संसदीय छानबिन समिति गठन गरेको हो । सोही समितिमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना सदस्य र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक–एक जना प्रतिनिधि सभाका सदस्य राखिएको छ ।