राजनीति

युवा पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतराः वरिष्ठ नेता डा. कोइराला

१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिलेको युवा पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्ने खतरा रहेको बताएका छन् ।

कांग्रेस विराटनगर महानगरपालिका-४,कार्यसमितिले शनिबार आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको तर्क छ । नेता कोइरालाले लोकतन्त्रबिना अब नेपाली जनता बाँच्न नसक्ने समेत दावी गरेका थिए ।

बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने र बलियो बनाउन नयाँ पुस्तालाई पार्टीसँग जोड्नुपर्ने उनको भनाइ छ । नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिको बारेमा युवालाई बुझाउनु जरुरी रहेको समेत बताएका थिए ।

नेता कोइरालाले राजनीतिप्रति युवाहरूको वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको समेत बताएका छन् ।