बाग्मती

बागमती प्रदेशका मुख्यमन्त्री तामाङले भोलि राजीनामा दिने

१७ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङले आइतबार राजीनामा दिने भएका छन् ।

पार्टीका सभापति शेरबहादुर देउवासँग शनिबार बूढानीलकण्ठमा सम्पन्न छलफलका क्रममा मुख्यमन्त्री तामाङले यहि साउन १४ गते आफूले नियुक्त गरेका ३ जना मन्त्रीहरूलाई निरन्तरता दिने शर्तमा पदबाट राजीनामा दिन तयार भएका हुन् । मुख्यमन्त्री तामाङले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानूनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूको शपथ रोकेको थियो । बूढानीलकण्ठमा शनिबार भएको छलफलमा सहभागी प्रदेश सभा सदस्य रामकृष्ण चित्रकारले नयाँ गठन हुने सरकारमा लम्साल, श्रेष्ठ र गुरुङलाई शपथ खुवाउने शर्तमा मुख्यमन्त्री तामाङले आइतबार राजीनामा दिने सहमति जुटेको बताएका छन् ।