राजनीति

पूर्वराष्ट्रपतिलाई पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्नेमा सहमहामन्त्री परियारको जोड

१७ साउन, भक्तपुर । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था संविधानमै राख्नुपर्ने बताएका छन् ।

भक्तपुरमा शनिबार कांग्रेस सूर्यविनायक नगरसमितिले आयोजना गरेको तेस्रो नगरपालिका सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकान हुन् । संविधान संशोधन गरेर भए पनि पूर्वराष्ट्रपति पुनःसक्रिय राजनीतिमा आउन नपाउने व्यवस्था गर्नुपर्ने उनको जोड थियो ।

सहमहामन्त्री परियारले संविधान निर्माण गर्दा राष्ट्रपति भइसकेको व्यक्ति पुनःराजनीतिमा सक्रिय हुन पाउने व्यवस्था गर्न चुकेका कारण अब संविधान संशोधन गर्ने क्रममा यस व्यवस्थालाई समावेश गरिनुपर्नेमा जोड एिका छन्।

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन नसक्ने गरी गरेको निर्णय स्वागत योग्य रहेको उनको भनाइ थियो । पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कने कुरा ठिक नभएको र एमालेले जे निर्णय गर्यो, त्यो सही निर्णय गरेको उनको तर्क छ । कांग्रेसले पनि त्यस्तै निर्णय गर्नुपर्नेमा उनले जोड दिएका हुन् । 

कांग्रेसको १५औं महाधिवेशन आगामी २०८३ मंसिरभित्र गर्नु उपयुक्त हुने पनि उनको भनाइ छ । कांग्रेसमा वर्तमान नेतृत्वको कार्यकाल २०८२ मंसिरमा सकिने समेत उनले बताएका छन् । तर महाधिवेशनको तयारी शुरु नभएको बताउदै उनले अब मंसिरमा महाधिवेशन सम्भव नभएकाले १ वर्ष म्याद थपेर अर्को वर्षको मंसिरमा महाधिवेशन गर्नुपर्ने सहमहामन्त्री परियारले जिकिर गरेका थिए ।